संयुक्त पूर्व सैनिक कल्याणकारी परिवार सैनामैना–४ को दशौं वार्षिक साधारण सभा तथा एघारौं स्थापना दिवस कार्यक्रम बुधबार सैनामैना–२ बाबारीमा सम्पन्न भएको छ। सैनामैना २, ३ र ४ क्षेत्रका विभिन्न वडामा बसोबास गर्ने पूर्व तथा कार्यरत सैनिकहरूको साझा संगठनले आफ्नो स्थापनाको ११औं वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको हो।
संस्थाका अध्यक्ष क्याप्टेन खम बहादुर खत्रीले सभालाई सम्बोधन गर्दै संस्थाको विकासक्रम र उद्देश्यमाथि प्रकाश पार्नुभयो। उहाँले भन्नुभयो, “२०७२ सालमा स्थापना भएदेखि नै हामीले संस्थागत विकासलाई प्राथमिकता दिँदै आएका छौं। यो केवल एउटा संगठन मात्र नभई सामाजिक र पारिवारिक भेटघाटको बलियो चौतारी बनेको छ। अवकाश पछिको जीवनलाई सक्रिय बनाउँदै समाज सेवामा जोडिनु नै हाम्रो मुख्य लक्ष्य हो।”
उहाँले आगामी दिनमा आफ्ना सदस्यहरूको कल्याणकारी कार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने र सामाजिक उत्तरदायित्वका कार्यमा पनि सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार क्याप्टेन धन बहादुर खत्रीले भूपू सैनिकहरूको हकहितमा जोड दिनुभयो । उहाँले संगठनको महत्त्वबारे थप्दै भन्नुभयो, “हामीले भारतीय, ब्रिटिस, सिंगापुर प्रहरी, नेपाली सेना र भारतका प्यारामिलिट्री लगायत विभिन्न सेवाबाट निवृत्त भएका हरेक क्षेत्रका भूपूहरुलाई संगठनात्मक रूपमा जोड्दै आएका छौं। सेवा र राष्ट्रका लागि रगत–पसिना बगाएका हामीहरू अवकाशपछिको जीवनमा एक्लो नहोऔं भन्ने हाम्रो उद्देश्य हो।”


उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “भूपूहरुलाई एकताबद्ध गराएर पारिवारिक मिलन मात्र होइन, उनीहरूका घरायसी र प्रशासनिक समस्या सुल्झाउन पनि हामी क्रियाशील छौं। विशेषगरी भूपूका परिवारमा आउने पेन्सन सम्बन्धी जटिलता, स्वास्थ्योपचारमा सहजीकरण र अन्य आकस्मिक दुःखमा यो संस्था सधैं भरपर्दो सारथी बन्दै आएको छ।”
कार्यक्रममा संस्थाका सल्लाहकार क्याप्टेन चिन्ता बहादुर खत्री, कोषाध्यक्ष कुल बहादुर खत्री लगायतको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाका तर्फबाट जेष्ठ सदस्य जित बहादुर सार्कीलाई विशेष सम्मान गरिएको थियो। उहाँको लामो योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मानित गरिएको हो।
संस्थाका उपाध्यक्ष सुवेदार केश बहादुर रानाको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन सचिव गोविन्द प्रसाद आचार्यले गर्नुभएको थियो। कार्यक्रममा सैनामैना वडा नं. २, ३ र ४ मा बसोबास गर्ने ठूलो संख्यामा पूर्व सैनिक, कार्यरत सैनिक र उनीहरूका परिवारको उपस्थिति रहेको थियो।








