आगामी सैनामैना व्यापार महोत्सव सफलतापूर्वक सञ्चालन गर्नका लागि सैनामैना व्यापार संघले सैनामैना–६ कलौनीमा सचिवालय स्थापना गरी तयारीलाई तीव्र बनाएको छ। महोत्सव यही माघ १२ गतेदेखि २५ गतेसम्म, सैनामैना–६ कलौनी क्याम्पस गेटको पूर्वपट्टि आयोजना हुने भएको हो।
सचिवालय सञ्चालनमा आएसँगै व्यवस्थापन, स्टल बुकिङ, सांस्कृतिक कार्यक्रमको तयारी, प्रचार प्रसार तथा समन्वयका कामहरू द्रुत गतिमा अघि बढिरहेको व्यापार संघले जनाएको छ। स्थानीय व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो।
सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले महोत्सवले स्थानीय उत्पादन र व्यवसायलाई प्राथमिकता दिने बताए। उनले भने,
“सैनामैना महोत्सव केवल मनोरञ्जनको माध्यम मात्र होइन, स्थानीय व्यापार, पर्यटन वृद्धि, घरेलु उद्योग, कृषक र साना व्यवसायीलाई प्रोत्साहन गर्ने साझा मञ्च हो। यसबाट आर्थिक चलायमानता बढ्नुका साथै सैनामैनाको पहिचानलाई थप मजबुत बनाउने विश्वास लिएका छौँ।”
अध्यक्ष पौडेलले महोत्सवलाई व्यवस्थित, सुरक्षित र सभ्य रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्य भइरहेको उल्लेख गर्दै स्थानीय सरकार, संघ–संस्था, व्यवसायी र सर्वसाधारणको सक्रिय सहभागिता अपेक्षा गरिएको बताए।
“सबैको साथ, सहयोग र सहभागिताबाट यो महोत्सवलाई उदाहरणीय बनाउने हाम्रो लक्ष्य छ,” उनले थपे।
महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, व्यापारिक स्टल, कृषि तथा घरेलु उत्पादनको प्रदर्शनी रहने सैनामैना व्यापार सङ्घ आयोजक भएतापनि सबै सैनामैना नगरबासी नै यसको आयोजक रहेको कुरा आयोजकले जनाएको छ।







