सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। संघले सैनामैना–११ मा अवस्थित महेरवा देवी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई जाडोबाट बच्न स्विटर प्रदान गरेको हो ।
संस्थाकी अध्यक्ष माया केसीले व्यवसायीक हकहितका लागि लड्दै गर्दा सामाजिक सेवालाई पनि बिर्सन नहुने बताउनुभयो। कपडा वितरण गर्दै उहाँले भन्नुभयो, -“हामी केवल व्यवसाय मात्र गर्दैनौँ, समाजप्रति हाम्रो उत्तिकै जिम्मेवारी छ। चिसो बढ्दै जाँदा कुनै पनि बालबालिकाले न्यानो कपडाकै अभावमा विद्यालय आउनबाट बञ्चित हुनु नपरोस् र उनीहरूको स्वास्थ्यमा असर नपरोस् भन्ने हेतुले सहयोग गरेका हौँ।”
अध्यक्ष केसीका अनुसार, संस्थाका पूर्व कार्यसमिति सदस्य (हाल वैदेशिक रोजगारीमा रहेका) सुरज भट्टराईले पठाउनुभएको रकम र अन्य होटल व्यवसायी साथीहरूबाट संकलित आर्थिक सहयोगबाट पहिलो चरणमा ४० जना विद्यार्थीलाई स्विटर वितरण गरिएको छ। बाँकी १४३ जना विद्यार्थीलाई आगामी एक हप्ताभित्रै न्यानो कपडा उपलब्ध गराइने जानकारी पनि उहाँले दिनुभयो।
विद्यालयकी प्राचार्य मिना थापाले व्यवसायी संघको यस कार्यप्रति आभार प्रकट गर्दै विशेषगरी विपन्न, दलित र सीमान्तकृत समुदायका बालबालिकाहरू अध्ययन गर्ने विद्यालयमा जाडोका कारण विद्यार्थी उपस्थित कम हुने गरेको उहाँको भनाई छ । भौगोलिक रूपमा पछाडि परेको विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाका लागि यो सहयोग अत्यन्तै प्रभावकारी हुने बताउँदै निजी क्षेत्रको सहकार्यले विद्यालयको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।


त्यस्तै, संस्थाका संरक्षक ढुण्डीराज न्यौपानेले संस्थाले विगतदेखि नै यस्ता मानवीय कार्यलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले भन्नुभयो, -हामीले विगतमा पनि सीमान्तकृत समुदायमा विभिन्न सहयोग गर्दै आएका छौँ। यो सहयोग केवल कपडा वितरण मात्र होइन, बालबालिकाको उज्ज्वल भविष्यका लागि गरिएको एउटा लगानी पनि हो। जाडोको सास्तीले विद्यार्थीको पढाइमा अवरोध नहोस् र उनीहरूले न्यानो भएर निर्धक्कसँग शिक्षा आर्जन गर्न सकून् भन्ने हाम्रो चाहना हो।”
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष नारायण खरेल, सल्लाहकार गोपाल भण्डारी, पर्यटन उपाध्यक्ष भिमलाल जैसी लगायत कार्यसमितिका पदाधिकारी र सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष मिना ज्ञवालीको स्वागत तथा सञ्चालन महासचिव नवराज पन्थीले गर्नुभएको थियो।









